Friday, October 16, 2015

म भविष्यवाणी गर्न सक्दिन।



म भविष्यवाणी गर्न सक्दिन, गर्न खोज्ने भए
सर्वप्रथम भुततिर जानेछु,
इतिहासका बिगतका पाना पल्टाई,
भविष्यका लागि अमरसिंह थापा बोलाउनेछु,
उनले लडेका सम्पुर्ण युद्धहरु हेर्नेछु,
लडाईमा चुहिएका उनका सम्पुर्ण रगत थोपामा नाप्नेछु,
शरीरमा लागेका घाउ संख्यामा गन्नेछु,
र सोध्छु आफैलाई "मैले यति थोपा पसिना बगाएको छु र?"
आफ्ना उत्तर पाएर, मौन भई म माफी माग्नेछु,
र प्रयास गर्नेछु देशका लागि भविष्यवाणी गर्न।


म भविष्यवाणी गर्न सक्दिन, गर्न खोज्ने भए
फेरी भुततिर जानेछु,
कौश्ल्यावती बनेर फेरी, पृथ्वी नारायण शाह जन्माउनेछु,
एकीकरण होइन, बाईसी चौबीसी राज्य बनाउनेछु,
नुवाकोटबाट गोर्खा छुट्टयाउनेछु,
र सोध्छु आफैलाई" मैले मेरो व्यक्तिगत प्रदेश पाएं कि नाई?"
आफ्ना उत्तर पाएर, लज्जित यो मेरो शिर निहुराउनेछु,
अनि प्रयास गर्नेछु देशका लागि भविष्यवाणी गर्न।



म भविष्यवाणी गर्न सक्दिन, गर्न खोज्ने भए
गीता,कोरान र बाइबल पल्टाउनेछु,
श्लोक, आयात र भर्स पढ्नेछु,
कुनै दिन येशुलाई रातो घण्टी फूल चढाएर, कोरान सुनाउनेछु,
सोध्नेछु मनभित्रको ईश्वरलाई "निर्जीव मुर्तीलाई खूशी पार्न मैले सजीव फूललाई मारेको छु??"
र त्यसदिन देखि म मानवता मात्र संगालनेछु,
अनि प्रयास गर्नेछु, देशका लागि भविष्यवाणी गर्न।



म भविष्यवाणी गर्न सक्दिन, गर्न खोज्ने भए
पत्रकार सम्मेलन बोलाउनेछु,
अगाडीको आसनमा एउटी कुमारी, अर्की विवाहिता र अर्की विधवा बसाउनेछु,
र प्रश्न गर्नेछु,
"यिनी सबैकालागि त्यही आरक्षणको तेतीस प्रतिशत होइन र,
जसमा कोही सपना सजाउंदै, कोही रमाउंदै र कोही अतित सम्झेर आंसु बगाउंदै छिन्",
र त्यसपछि म आदरसाथ संबोधन गर्दै आसनमा बोलाउनेछु,
घरमा बिरामी आमा पाल्दै गरेकी एक अविवाहिता,
जसले हरेक राती आमाको प्राण जोगाउन देहाव्यापार गर्छिन्,
र तिनका लागि आरक्षण होइन, तिनको कुमारीत्वको संरक्षण माग गर्नेछु,
र फेरि प्रयास गर्नेछु, देशका लागि भविष्यवाणी गर्न।

म भविष्यवाणी गर्न सक्दिन, गर्न खोज्ने भए
देशका सम्पुर्ण बालसंजाललाई बोलाउनेछु,
सबैको हातमा एकै किसिमका कलम र कापी दिनेछु,सबैलाई खान भनि एउटै खाना दिनेछु,
र सिकाइदिन्छु तिनलाई देशभक्ति को अर्थ, पढाइदिन्छु तिनलाई मानवताको पाठ,
कोही खाना पचाउन हिंड्ने सय पाइला,
र कोही खाना पाउन हिंड्ने सय पाइला को फरक देखाउनेछु,
र सोध्नेछु तिनलाइ मित्रता र न्यायको अर्थ,
भन्न नसके कसैले,त्यस दिन म सिकाउनेछु,
कोहि अल्फा, कोही बिटा र कोही गामा किन भए,
बुझ्न नसके उनले,
"जन्माइदेउ आफै अर्को क्वान्टम थ्योरी" भनेर भन्नेछु,
र फेरी अघि सर्नेछु, देशका लागि भविष्यवाणी गर्न।



म भविष्यवाणी गर्न सक्दिन, गर्न खोज्ने भए
म सगरमाथा चढेर, जानकी मन्दिरलाई ढोग्नेछु,
महोत्तरीको जलेश्वरमा बसेर, हुम्लाको सिमीकोट सम्झिनेछु,
चांदनी दोधारामा बसेर, इलामको चियाबारीको चित्र कोर्नेछु,
मनभित्र सजाउनेछु मेरो सिंगो नेपाल,
र लुम्बिनी गई मायादेवी मन्दिरमा बसेर, बुद्धलाई सम्झिंदै
प्रयास गर्नेछु, देशका लागि भविष्यवाणी गर्न।



म भविष्यवाणी गर्न सक्दिन, गर्न खोज्ने भए
ईंटहरु खोज्दै मेरो धरहरा र वसन्तपुर दरबार ठड्याउनेछु,
बांकी रहेका ईंटले, दोलखा र सिन्धुपाल्चोकमा घरहरु बनाउनेछु,
सबैले बसोबास पाएसी,कोशी र कर्णालीबाट जलविधुत निकाल्नेछु,
सबैको घर र मनलाइ उज्यालो बनाउनेछु,
ती मनका शक्तिबाट, काठमाडौंमा म मेट्रो चलाउनेछु,
मेट्रोबाट भएको कमाइले, म बाग्मती सफा गराउनेछु,
बाग्मती सफा गराई, म मेलमचीबाट पानी निकालनेछु,
देशको युवाको दक्षता देखाउनेछु,
ती युवावर्गलाई नै विश्वकप खेल्न पठाउनेछु,
विश्वकप जितेर, सुर्य चन्द्र भएको मेरो झण्डा विश्वसामु ल्याउनेछु,
अनि प्रयास गर्नेछु, देशका लागि भविष्यवाणी गर्न।


                                                                                                              Written By:
                                                                                                       Adarsh Mishra
Promisha Mishra

No comments:

Post a Comment