Thursday, September 17, 2015
भविष्य यस्तो होस्।
म लेख्दै छु भविष्य, मेरो देशको
श्रृंगारदैछु सपना, यहांका हजारौ भेषको,
तर आज म सामान्य केटी भएर होइन,
टीशर्ट र जीन्स लाएर होइन,
आंखामा गाजल र अनुहारमा क्रिम दलेर होइन,
म आज लाउनेछु,
मेरो विधवा आमाले लाउने सेतो साडी,
फुटाउनेछु मेरा हातका हरिया चुरा,
र श्रृंगारनेका छु मेरा लागि, मेरा देशका लागि सपना।
म जन्माउंदै छु आज मेरो भोलि,
तर मखमली तन्ना भएका ओछ्यानमा होइन,
डाक्टर र नर्स भएका अस्पतालमा होइन,
म आज जन्माउनेछु,
कसैको दरिद्रता भरेको आवाज सुनेर,
बिमारीले छट्पटिइका शरीर, औषधी नपाइ बग्दै गरेका आंसु,
हो तिनै पीडा भरिएका आंसुका थोपा पुछेर,
सुन्दरताले भरिएकी सानीमाया, आज ठमेलकी जुलिया भइछे अरे!,
हो त्यही जुलियाका रात्री व्यथा सुनेर,
कतार गएको श्यामेको हिजो लास आयो रे,
हो त्यही श्यामेको आमाको मनका वेदना बुझेर,
म आज जन्माइदिनेछु, मेरो भोलि।
मेरो देशको लाखौं हात, जुन टायर बाल्न व्यस्त भए,
तिनका भोलि लेख्दैछु,
मेरी छिमेकी जसको अनुहारमा एसिड फालिएछ,
तिनको भोलि सोच्दैछु,
सुदुर पश्चिममा झाडापखाला ले कैयौं मरे,
तिनका सपना पनि देख्दैछु,
मेरी नेपाल आमा, जसका राजतन्त्र प्रजातन्त्र गन्तन्त्र जस्ता समयसमयमा सन्तान जन्मिए,
तर आज पनि तिनी रगत र आंसुमा डुबिरहिछन्,
उनको पनि भविष्य कोर्दै छु।
"भविष्य कस्तो होस्? भविष्य कस्तो होस्?",
पोलिरहयो मलाई, वर्तमान हेरेर म के कल्पना गरुं,
तर हेरें फेरि अनुहार मेरि आमाको अनि सोचें।
भविष्य यस्तो होस्,
जंहा हरेक बिहान सगरमाथा चुम्दै, सुर्यका सुनौला किरणले राष्ट्रियताको संदेश ल्याओस्,
जात धर्म होइन, मानवताको स्पर्श ल्याओस्,
मेची देखी महाकाली जहां भएपनि, एउटै भाव ल्याओस,।
भविष्य यस्तो होस्,
पदको लागि होइन, विकास लागि आवाज उठुन,
सम्स्या मात्र होइन, समाधानका आवाज उठुन,
प्रदेशका लागि होइन, राष्ट्रका आवाज उठुन।
भविष्य यस्तो होस्,
मृत्यु मात्र होइन, जीवनका खबर सुनियोस,
अधिकार मात्र होइन, कर्त्ब्य का बोली बोलियोस,
सरकार मात्र होइन, सरोकार का कुरा गरियोस।
भविष्य यस्तो होस्,
समानता होइन, सर्वमान का कुरा गरियोस,
बदनामी मात्र होइन, धन्यवाद का कुरा गरियोस,
बिगार मात्र होइन, सम्मान का कुरा गरियोस,
डर मात्र होइन, आत्मविश्वास का कुरा गरियोस।
सपनामा मात्र होइन, बिपनामा पनि देखियोस,
संविधानमा मात्र होइन, आमका मनमा पनि लेखियोस,
जंहा हाम्रा लाई होइन, राम्रालाई मानियोस,
मेरो देशको भविष्य यस्तो होस्।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment