Sunday, November 22, 2015

प्रेम पत्र

प्रिय माही,

पत्रको औपचारिकता पुरा गर्न प्रिय भनेर संबोधन। सायद मेरो आत्माभित्र रहेको प्रेमको कारणले पनि मैले प्रिय संबोधन गर्दै छु। अचम्म लाग्छ, जब जब यी प्रेमिल सांझहरु दोहोरिन्छन् अनि एक्लै बसेर किन कल्पन मन लाग्छ, किन हजुरलाई सम्झन मन लाग्छ। त्यो सांझको अन्धकार र प्रेममा डुब्न मन लाग्छ। सामाजिकता र दायित्वको दरो खम्बा समाएर उभिएकी प्रोमिशा एकान्तमा कर्तव्य भुल्छे, जिन्दगी भुल्छे र हजुरसंग रमाउंछे। विवश यो आत्मा, विवश यो हृदय अनि आज विवशता र भयानकताको तडपबाट मुक्ति पाउने आशामा उहिले देखि हृदयान्तरमा गुम्सिएर रहेका चाहनाका भण्डारलाई छच्ल्क्याउने दुष्प्रयास गर्दै छु। यस अनभिज्ञताको परिधिभित्र कोरिएका सम्पुर्ण भुलप्रति क्षमायाचना। न म प्रेमको बारेमा लेखिने काव्य वा उपन्यासकि लेखिका हुं, न म प्रेमकी खेलाडी नै। म त केवल हजुरको सतव्यहवार र सतआत्मबीच सबैभन्दा बढी हजुरले खेलेको खेलबीच अल्झिएको एक आत्मा हुं। न म तोडन् सक्छु न त पोख्न नै, केवल छच्ल्क्याउन मात्रै। रोमियो जुलियत, राधाकृष्ण जस्तो मेरो प्रेम महान त पक्कै नहोला तर हजुरको खुशीमा मेरा ओठमा हासों र दुःखमा आत्माबाटै साथ हुनेछ भन्ने वाचा गर्दछु।

हुन संसारका ठुल्ठुला उपन्यासकार र दार्शनिकहरुले पुर्णतः परिभाषित गर्न नसकेको यो प्रेमको बारेमा म के नै भन्न सकुला र? तर एकचोटी आफ्नो मनमा महसुस गरेको भावनाहरु भन्न चाहन्छु। म आफ्नो अन्तरहृदयमा हजुरलाई महसुस गर्न सक्छु, के यही प्रेम होइन र? म आँखा बन्द गरेपनि हजुरका छविहरुलाई देख्न सक्छु, के यही प्रेम होइन र? आफ्नो एकान्तमा हजुरलाई समझेर रूम्मलिन सक्छु, रमाउन सक्छु, म हजुरका यादमा डुब्न सक्छु। आफ्ना कर्तव्य र अधिकार, सम्पुर्ण अनाकार ती आकारलाई बिर्सन सक्छु र केवल हजुरसंगै बांचेको हुन्छु। सायद म छू भन्ने कुरा पनि बिर्सन्छु। 'म छु' भित्रको 'म' पनि हराएर जान्छ केवल 'छू' भन्ने मात्र आभाष गर्छु। सायद यस पत्रको सहायताले मात्र हजुरलाई पनि ठम्याउन गाह्रै होला, कसैले कसैलाई नचिनेर पन यति माया गर्न सक्छ र? किनकि यस संसारमा हरेक कामको लागि परिचय प्रथम चीज हो। हरेक प्रेममा पनि परिचय पछि प्रेम हुन्छ तर सायद जरुरी छैन, प्रेम पछि पनि परिचय गर्न सकिन्छ, परिचय नभएपनि प्रेममात्र पनि गर्न सकिन्छ किनकि कहिलेकांही प्रेम नै परिचय हुन्छ।

अतिततिर फर्किदां म आफुपनि अचम्भित हुन्छु। कसरी हजुरको प्रतिभाले मेरो मुटुमा यस्तो डोब बनायो? हुनत प्रतिभाको कदर संसारमा सबैले नै गर्छन् तर हजुरको प्रतिभाले मलाई प्रेमी बनायो, प्रेम गर्न सिकायो। हजुरको जीवनको प्रथम प्रतिभाशाली प्रदर्शनबाट नै प्रभावित भएर म प्रेममा नपरेकी होइन। आफ्नो जीवनको सफलताकोलागि कर्म गर्ने म कर्मयोगी भएपनि भाग्यले मलाई जहिले हजुरको प्रतिभा हेर्ने मौका प्रदान गरिरहयो। किनकिन हजुरको प्रदर्शनले मलाई छुट्टै प्रसन्नताको अनुभुति हुन्छ। शताब्दीऔं सम्म बिर्सन नसकिने हजुरको त्यो खेल मलाई अझसम्म पनि याद छ र रहिरहने छ। बाध्यता र प्रेम नामका दुई छुट्टै डोरीबाट बांधिएकि म, मनमा हजुरकै प्रेम संचय गरेकी संचिता हुं। भौगोलिक आधारमा धेरै दुरी भएपनि, समृतिमा हजुरलाई राखेर बांच्ने स्मिता हुं, हजुरकै प्रेम संगीतमा रमाउने संगीता हुं।

कहां हजुर त्यो आकाशको चन्द्रमा, कहां म यस धर्तीकी एक पोखरी। चन्द्रमाको छायांमात्र पोखरीमा देखिन्छ, चन्द्रमा स्वयं कहिले पोखरीमा आउंदैन भन्ने थाहा पाएपनि, कुनै दिन यस पोखरीको पानी सागरमा गएर मिल्नेछ र त्यस चन्द्रमाको गुरुत्वाकर्षणलाई कमसेकम महसुस गरेर छाल बनेर उफ्रनछे भने आशामा संधैभरि कुरिरहें। एकदिन खबर पाएं हजुर यस पोखरी नजिकैको सागरमा उत्रदैं हुनुहुन्छ। भेट्ने आशामा त्यहीं पुगें तर त्यहां मजस्ता धेरै पोखरी थिए अनि भेट्न पाइएन। त्यसदिन थाहा पाएं मेरो प्रेम त केवल मरुभुमिको एकमुठ्ठी बालुवा सरी रहेछ। मरुभुमिमा नै कसैलाई रुची हुदैंन, त्याहांको एकमुठ्ठी बालुवालाई कसले मतलब गर्छ? तर बालुवालाई आफ्नो अस्तित्व थाहा हुन्छ। ऊ त्यही अस्तित्वमा सिमित भएपनि आफुलाई बुझेको हुन्छ।

आखिर प्रेम सांच्चै नै स्वतन्त्रता को अर्को नाम रहेछ। जहां हरेक लेनदेन र स्वार्थ सकिन्छन्, त्यही नै प्रेमको उत्पति र अर्थ रहेछ। म पनि हजुरको प्रेममा स्वतन्त्र भैसकेको छु। मेरो संकल्पित मन प्रेम गर्न मात्र चाहन्छ, कहिले प्रेम पाउन चाहंदैन, केवल हजुरलाई एकहोरो प्रेम गर्न चाहन्छ। छच्लकिने यी भावनाहरु सायद कहिले अन्त्य हुंदैनन्, जति लेखे पनि शब्द अपर्याप्त नै छन्, तर कलमको थकाइलाई बुझेर यहीं अन्त्य गर्दैछु।
                                                
                                हजुरकी 

                                                                          प्रोमिशा 


1 comment: